प्रदेश १ मा दुई दिन सार्वजनिक बिदा थप


 


विराटनगर, २९ चैत । १ नं. प्रदेश सरकारले केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो । थप बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ । यस्तै, मन्त्रिपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरेको छ ।

केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरूमा मात्रै बिदा दिने निर्णय गरेको थियो । यस्तै, मन्त्रिपरिषद्को बैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरणका विधेयक पनि पारित गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त राजपत्रमा सरकारको अध्यादेश, ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्