घुससहित नापी प्रमुख रंगेहात पक्राउ


 


उदयपुर, २९ चैत । सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।

बिहिवार बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका प्रमुख साहलाई उनकै क्वाटरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ । साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु पचास हजार बिहान ८ बजे क्वाटरमा नै लिएको स्वयं सेवाग्राहीले बताएका छन् ।

साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताउनुभयो । यसभन्दा अघि पनि उनले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ ।

 

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्