दाइजो नल्याएको भन्दै गर्भवती घर निकाला, न्यायका लागि आठौं पटकसम्म प्रहरीमा उजुरी


 


बुटवल, चैत २९
दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो। अन्नपूर्णमा खबर छ ।

मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागी विवाह गरेकी थिइन्। माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन्।

‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें।’

मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ। बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन्।

पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन्। आठौं पटकसम्म प्रहरी चौकीमा पुग्दासमेत उनले न्याय पाएकी छैनन्।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए। विदेशमा रोजगारी गर्ने श्रीमान्ले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन् उस्काएपछि थप पीडामा परेकी हुन्। दुई दिनदेखि आफन्तको घरमा आश्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन्।

‘प्रहरीमा पुग्दा मिलेर बस्नू भन्दै पठाउँछन्। घरमा टिक्ने अवस्था भएन’, उनले भनिन्। श्रीमान्ले केही समयअघि गर्भको बच्चा मार्ने औषधि खान भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा परेकी छन्। ‘पेटको बच्चा मारेर घर छाडेर जा’, श्रीमान्को भनाइ उद्धृत गर्दै उनले अन्नपूर्णसँग भनिन्।

आठौं पटक प्रहरीमा पुगेकी उनलाई प्रहरीले नै मेलमिलाप गर्न भन्दै वडा कार्यालयमा पठाएको थियो। तीन दिनदेखि मेलमिलाप गराउने भन्दै छलफल भइरहेको छ। पीडक पक्ष नै मिलापका लागि राजी नदेखिएको बताइएको छ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्