लोप हुदै संस्कृति


 


Bhojpu lakhe (2)भोजपुर, भदाै २०

‘घरमा नाग टाँसेपछि ढोलको आवाजले मन तान्थ्यो, साथीभाई मिलेर भोजपुर लाखे हेर्न आउथ्यौं, भोजपुर सदरमुकाम देखी छ कोष पश्चिम कोट–५ का कृष्ण नेपाल भन्दै थिए, अहिले न ढोलको आवाज आउँछ, न पहिलेको जस्तो रौनक नै छ ।’ नेपालले यसो भनिरहँदा भोजपुर–७ की पार्वती श्रेष्ठलाई च्वाँस्स दुख्छ ।

हुन पनि नेवार समुदायको बाहुल्य रहेको भोजपुर सदरमुकाममा यतिबेला लाखेजात्राको रौनक छैन् । लाग्छ, अब संस्कृति लोप हुदै गएको हो ? विगतका वर्षहरुसँग तुलना गर्ने हो भने भोजपुरमा लाखेजात्राको कुनै चहलपहल छैन् ।

नागपञ्चमी देखी औपचारिक रुपमा शुरु भई कृष्णजन्माष्टमीको भोलिपल्ट सम्म हुने लाखेजात्राको भोजपुरमा चहलपहल क्रमशः हराउँदै गएको छ । पहिले सदरमुकाममा मात्र होइन गाउँ—गाउँमा समेत लाखेजात्रा हुन्थ्यो, गाउँबाट समेत सदरमुकाममा जात्रा देखाउन आउँथे तर अहिले सदरमुकाममा समेत लाखे देख्न निकै मुस्किल पर्न थालेको छ ।

खोई मान्छे ? भोजपुर बजारकी पार्वती श्रेष्ठ भन्छिन् युवाहरु सवै पलायन, बुढाबुढीलाई पसल हेर्दे ठिक्क । बजारमा लाखे निस्किदा बाटोमा खुट्टा राख्ने ठाउँसमेत हुदैनथ्यो । लाखे हेर्ने मानिसहरुको भिड उत्तिकै हुन्थ्यो ।

Bhojpu lakhe (1)यतिबेला लाखे निस्किदा ५—१० युवा मात्र देखिन्छन् । करिब २० दिन लाखेमय हुने भोजपुर साँच्चै सुनसान बनेको छ । यसमा गत बैशाख १२ को भूकम्पले पनि असर गरेको छ । अझ यतिबेला लगातारको बन्द हडतालले पनि लाखे जात्रामा कम चहलपहल भएको हो ।

लाखे नाच सँगै ढोलको आवाजले गुन्जयमान हुने भोजपुरका गाउँघर सुनसान बन्दै गएका छन् । लाग्छ, अव विस्तारै लाखेनाच इतिहासमा सिमित हुदैछ ।

लाखेनाच सँग नेवार समुदायको धार्मिक एंव सांस्कृतिक गहिरो सम्बन्ध रहदै आएको छ । बर्षाेदेखीको यो परम्परा र संस्कृति जगेर्नाका लागि स्थानीय नेवार समुदाय नै लागेको खासै पाईदैन ।

बरु अन्य समुदाय यो परम्परा जगेर्नामा लागेको देख्न सकिन्छ । लाखेजात्रा राजधानी बाहेक पूर्वि नेपालका खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लामा धुमधामका साथ मनाउने चलन रहदै आएको छ ।

युवाहरुसँग बुढापाका उमेरका मानिसहरु देखिदैनन् । यसरी संस्कृति लोप हुदै जानुको पहिलो कारक दश वर्षे सशस्त्र हिंसात्मक द्धन्द्धलाई जान्छ ।

जतिबेला द्धन्द्ध चरम उत्कर्षमा पुगेको थियो त्यतिबेला ठिक भोजपुरका मानिसहरु काठमाडौं—विराटनगर पलायन हुदै थिए । यो प्रकारको मन्द पलायनले वर्षाेदेखीको संस्कृति क्रमशः लोप हुदै जान थालेको हो ।

युवाहरु क्रमशः विदेशी भूमिमा भविष्य खोज्न लागे । एसएलसी पास गर्नै वित्तिकै गुणस्तरिय शिक्षाको खोजीमा युवा शहर पस्न थाले । जसले यतिबेला बजार युवा शुन्य अवस्थामा पुगेको छ ।

युवा जनशक्ति यस्तो जनशक्ति हो, जसले कला, संस्कृतिको जगेर्ना गर्न सक्छ, भोजपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका युवा विनम श्रेष्ठ भन्छन, विगत सँग लाखेजात्राको तुलना गर्ने कुनै ठाउँ छैन, संस्कृतिको जगेर्नामा अहिले हामी दुई—चार युवा लागेका छौ, तर निकै कठिन छ । श्रेष्ठको यो भनाई पर्याप्त छ, हाम्रा संस्कृतिहरु क्रमशः लोप हुदै जादैछन् । 

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्