महिला हिंसा रोक्न कडा कानून निर्माण हुन्छ : उपसभामुख तुम्वाहाम्फे


 


विराटनगर, २७ चैत । संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महिला हिंंसा र बलात्कारका घटना न्यूनीकरण गर्न दोषीलाई अधिक कारवासको सजाय हुने कानून निर्माणका सम्बन्धमा संसद्बीच छलफल भइरहेको छ ।” उपसभामुख डा तुम्वाहाम्फेले बाहिर बलात्कारीलाई मृत्युदण्डको माग भए पनि हाम्रो संविधानमा त्यसको व्यवस्था नभएकाले त्यो हुन सक्दैन भन्नुभयो ।

संविधानमा स्पष्ट उल्लेख भएअनुसार नै सभामुख र उपसभामुख फरक दलको र फरक लिङ्गको हुनुपर्ने व्यवस्थाअनुसार आफू भएको बताउँदै उहाँले अब हुने वाम गठबन्धको एकताबाट कुनै प्रभाव नपार्ने स्पष्ट पार्नु भयो ।

उपसभामुख डा तुम्वाहाम्फेले संविधान कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको उल्लेख गर्दै ऐनकानून र संवैधानिक व्यवस्थाअनुसार नेपाली जनताको आर्थिक उन्नति र समृद्धि कार्यमा आफ्नो समन्वयकारी भूमिका रहने बताउनुभयो । चौतारीका मोरङ अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस

 

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्