बैशाखमा इलाम महोत्सव हुने


 


इलाम, २७ चैत । आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ । २०७५ सालमा इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा हुँदैछ । भारतसँगको सुगौली सन्धिपछि भारतको नगरीगढीबाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो ।

सुगौली सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ । महोत्सवको तयारी तीब्र बनाइएको महोत्सव उपसमिति संयोजक नवराज शंकरले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्