मोदीले ओलीलाई दिए सरप्राइज भेट


 


नयाँदिल्ली, चैत २४
तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । अन्नपूर्णमा खबर छ ।

पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए ।

‘नेपाल(भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ओली र मोदीको भेटवार्तामा जलविद्युत्मा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ । दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ ।

ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए ।

भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सरप्राइज भेट गरेका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्