एकैपटक ३० सचिव सरुवा, को कहाँ परे ?


 


काठमाडौँ, चैत २४
सरकारले एकैपटक विभिन्न मन्त्रालय र निकायका ३० सचिवलाई सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो । कान्तिपुरमा खबर छ ।

विभिन्न मन्त्रालय र निकायमा रहेका ४८ सचिवमध्ये एकैपटक ३० जनाको सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र शिक्षा सचिव मधु रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय प्रेमकुमार राई र खगराज बराललाई क्रमशः गृह तथा शिक्षा मन्त्रालयमा सारिएको छ ।

अर्थसचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा लगिएको छ भने अख्तियार सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयमा र सञ्चारसचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा लगिएको छ । रक्षासचिव विनोद केसीलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने त्यहाँ योजना आयोगका सचिव विष्णु लम्साललाई ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका शरदचन्द्र पौडेललाई योजना आयोग लगिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (आपूर्ति) अनिल ठाकुरलाई महिला आयोगमा सारिएको छ ।

पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सारिएको छ । ट्रस्टका सचिव अर्जुनकुमार कार्कीलाई पुनर्निर्माण प्राधिकरणमा लगिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । वन सचिव युवकध्वज जीसीलाई कृषि मन्त्रालय र त्यहाँका सचिव ९पशुपन्छी० विश्वनाथ ओलीलाई वन मन्त्रालय लगिएको छ ।

प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा र राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव कृष्णराज बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

खानेपानी मन्त्रालयका गजेन्द्र ठाकुरलाई शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिवमा सारिएको छ । विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सारिएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्