चाहेको सडकमा सवारी साधनलाई अनुमति दिइने


 


काठमाडौँ, २३ चैत । यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ ।

विभागले शुक्रवार देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो ।

संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो । विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने उहाँले बताउनुभयो । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ । रासस

 

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्