समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति


 


काठमाडौँ, २३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ राष्ट्रिय महाधिवेशनको काठमाण्डौमा आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गर्नुभयो । “लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो ।

सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उहाँको भनाइ थियो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशन भोलिसम्म चल्नेछ । रासस

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्