नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह


 


नयाँदिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उहाँले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उहाँले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गर्नुभयो । सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार छ भन्नुभयो । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पार्नुभयो ।

नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्काे प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गर्नुभयो । माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत आयोजना निर्माणका क्रममा रहेको उहाँले बताउनुभयो । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् । रासस

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्