प्रधानमन्त्री ओलीको भारत भ्रमण: राजेश हमाल पनि भ्रमण दलमा, अन्य को–को छन् ?


 


-प्रकाश सिलवाल\रमेश लम्साल
काठमाडौँ, चैत २२

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान नौ बजे भारत प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत हुनुहुन्छ ।

भ्रमण दलमा संघीय संसदका सदस्यहरु शरतसिंह भण्डारी, दिनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्त चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सिताराम महत्तो, विमलप्रसाद श्रीवास्तव सहभागी हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि भ्रमण रहनुुहुनेछ ।

नायक राजेश हमाल र निर्देशक दिनेश डिसी पनि भ्रमण दलमा रहनुभएको छ । यसबाहेक निजी खर्चमा उद्योगी/व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि सामेल हुनेछन् ।

भ्रमण दलमा पहिलो पटक कक्षा क्षेबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसीको प्रतिनिधित्व रहनेछ । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ ।

यस्तै नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यवहाक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता रहनेछ ।

अरुण तेस्रोको शिलान्यास हुने 

भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।

भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो परियोजनाको हैदरावाद हाउसबाट शिलान्यास गर्ने कार्यक्रम छ । कूल नौ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण सुरु भइसकेको छ ।

यस्तै नेपाल र भारतको एकीकृत जाँजपास चौकीको समेत उद्घाटन गर्ने कार्यक्रम छ । वीरगन्जमा निर्माण सम्पन्न भएको उक्त एकीकृत चेक पोष्टको पनि हैदरावाद हाउसबाट उद्घाटन गरिनेछ । रासस

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्