प्रधानमन्त्रीका भारत भ्रमणका यस्ता छन् एजेण्डाः पानीजहाजदेखि स्टिमर सञ्चालनसम्म


 


काठमाडौं, चैत २२
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् ।

एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए । नयाँ पत्रिकामा खबर छ ।

कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पारवहन अधिकार उल्लेख भए पनि अझै कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्रीले आसन्न भ्रमणमा कार्यान्वयनका लागि प्रमुखताका साथ उठाउने बताए ।

‘कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट सामुद्रिक पहुँच जलमार्गसम्बन्धी अधिकार प्राप्त गर्ने उल्लेख भइसकेकाले प्रधानमन्त्रीज्यूले भ्रमणमा त्यो अधिकार कार्यान्वयनको विषय उठाउनु स्वागतयोग्य हुनेछ,’ भ्रमणको प्राथमिक एजेन्डामा टिप्पणी गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने ।

गंगामा नेपालको पानीजहाज
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । आफ्नो उक्त योजनालाई मूर्त रूप दिन भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले स्थायी समितिमा बताए । पटनासँग जोडिएको गंगा नदीमा नेपालको पानीजहाज सञ्चालन गरी कोसी, गण्डकी र कर्णाली नदी हुँदै सामुद्रिक मार्गबाट सामान आयात–निर्यात गर्न सकिने चर्चा चल्दै आएको छ ।

‘गंगा नदीबाट आफ्नै पानीजहाजमा सामान ल्याएर नेपालको सिमानासम्म जोड्ने कुरा भ्रमणमा उठाइने कुरा उहाँले जानकारी गराउनुभयो ।

कोसी नदीमा स्टिमर
बैठकमा प्रधानमन्त्री ओलीले भारतसँग सामुद्रिक पहुँचको अधिकारसँगै भारतीय सीमासम्म कोसी नदीमा सानो पानीजहाज (स्टिमर) चलाउने योजना पनि सुनाएका थिए । उहाँले भारतसँग भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने सामुद्रिक पहुँचको अधिकारसँगै कोसी नदीमा स्टिमर चलाउने योजना रहेको पनि जानकारी गराउनुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्