विदेशी वित्तिय संस्थाबाट ८० अर्ब रुपैयाँ कर्जा पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था


 


काठमाडौं, चैत २१
नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्।

राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेपछि यो सम्भव भएको हो। अन्नपूर्णमा खबर छ ।

राष्ट्र बैंकले वित्तीय बजारमा तरलता अभाव दोहोरिएपछि यसको व्यवस्थापन गर्न विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउन बैंकलाई बाटो खुला गरिदिएको हो। बढी प्राथमिक पुँजी भएका बैंकले बढी कर्जा पाउनेछन् भने राष्ट्र बैंकले पुँजी वृद्धि योजनाअनुसार पुँजी नपुर्‍याएका बैंकले पनि दुई अर्बसम्म विदेशी बैंकबाट पुँजी लिन पाउनेछन्।

वाणिज्य बैंकहरूले आफ्नो बैंकको प्राथमिक पुँजीका आधारमा विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए। उनले भने, ‘हाल बैंकको प्राथामिक पुँजी करिब तीन खर्ब १२ अर्ब छ।’ यसरी हेर्दा बैंकहरूले ८० अर्ब रुपैयाँ ल्याउन सक्ने देखिन्छ।

बैंकहरूले कर्जा लिन कर्जा प्रवाह गर्ने क्षेत्र, कर्जा प्रवाहको प्रयोजन र यसबाट देशको अर्थतन्त्रमा पार्ने प्रभावलगायत विषय वस्तु खुलाउनु पर्नेछ। यस्तो कर्जा बैंकहरूले सरकारका प्राथमिकता तथा उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग मिल्ने क्षेत्रमा उक्त कर्जा लगानी गर्न पाउनेछन्।

यस्तो ऋण जलस्रोत, प्रसारणलाइन, केबलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुललगायत पूर्वाधार निर्माण क्षेत्र, पर्यटन, कृषि, लघुवित्तलगायत क्षेत्रमा जानेछ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्