काठमाडौँमा बलात्कारका घटनामा वृद्धि


 


काठमाडौँ, २० चैत । काठमाडौँमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरल मंगलबार आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको जानकारी दिएको हो ।

परिसरले दिएको जानकारीअनुसार आव २०७१/७२ मा ९२, २०७२/७३ मा ९९ र २०७३/७४ मा ११२ जबर्जस्ती घटना भएका छन् । कार्यक्रममा परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराध उल्लेख्यरुपमा वृद्धि भएको बताउनुभयो । उहाँले जबर्जस्ती करणीका घटनामा प्रहरी कर्मचारीसमेत गम्भीर हुन नसकेको उल्लेख गर्नुभयो ।

जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलनजस्ता कारणले जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरीले जनाएको छ । साथै, लागुऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले महिला तथा बालिकामाथि जबर्जस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न आम नागरिकको सहभागितामा कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो । “जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन, यसका लागि आम नागरिकको सहयोग अनिवार्य हुन्छ”, उहाँले भन्नुभयो । जबर्जस्ती करणी सम्बन्धमा गाउँगाउँ, टोलटोल र विद्यालयमा अभियान सञ्चालन गर्नसके घटनामा कमी आउने उहाँको भनाइ थियो । परिसरले जबर्जस्ती करणीका सम्बन्धमा थप अध्ययन र अनुसन्धानका लागि अल्पकालीन योजना निर्माण गर्ने जनाएको छ । रासस

 

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्