तीन विषयमा अड्कियो पार्टी एकता घोषणा, आज फेरि बैठक बस्दै


 


काठमाडौं, चैत २०
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ ।

राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । नयाँ पत्रिकामा खबर छ ।

तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।

सहमति जुट्न नसकेका विषयमा छलफल गर्न आज (मंगलबार) एकता संयोजन समितिको बैठक बस्दै छ । एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ ।

टुंगिन बाँकी तीन विषय

१. एकताको संख्या अनुपात
कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन ।

यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता ठूलो नहुने बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ ।

तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने भन्दै बढीभन्दा बढी हिस्सा लिने रणनीतिमा देखिन्छ ।

२. विधानमा ‘जनयुद्ध’ शब्द थप्ने कि नथप्ने रु
विधान मस्यौदाको सुरुकै प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

३. चुनाव चिह्न स् सूर्य कि सूर्यभित्र हँसिया–हथौडा रु
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न प्रभावकारी हुने एमालेको तर्क छ ।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्