यमनी शरणार्थी शिविरमा हवाई आक्रमण, १४ जनाको मृत्यु


 


एजेन्सी, १९ चैत । आन्तरिक रूपमा विस्तापित यमनी नागरिक बस्दै आएको शिविरमा साउदी अरब नेतृत्वको सेनाले गरेको हवाइ आक्रमणमा परी सोमबार कम्तिमा १४ जनाको मृत्यु भएको यमनी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले बताएका छन् ।

यमनको रेड सी बन्दर्गाह शहर होडेइडाह नजिकै रहेको शिविरमा भएको आक्रमणमा केही महिला तथा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्, यमनी सुरक्षाकर्मीहरूले बताए ।

घाइतेमध्ये केही गम्भीर रूपमा घाइते रहेका कारण मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने स्थानीय अधिकारीले बताएका छन् ।

यमनमा अमेरिकी सहयोगप्राप्त साउदी नेतृत्वको गठवन्धन सेनाले तीन बर्ष पहिले युद्ध शुरु गरेको र यो विगत केही समयमा गरिएका श्रृङ्खलावद्ध हवाई आक्रमणमध्येको अन्तिम आक्रमण हो ।

गत हप्ता पनि गठबन्धन सेनाले यमनको उत्तरी प्रान्त सादामा रहेको एउटा प्रसिद्ध व्यापारिक केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । रासस

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्