‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’


 


चितवन, १९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उहाँले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गर्नुभयो । अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उहाँले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताउनुभयो । रासस

 

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्