देउवा सरकारको झुट, भूकम्पपीडितलाई दिने अनुदान हल्ला मात्रै !


 


काठमाडौं, चैत १९
शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।

गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नै छैन । नयाँ पत्रिकामा खबर छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका छन् । उनले् भूकम्पपीडितका बारेमा निर्णय भएको नभएकोबारे मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै हुने बतए । मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमा यस्तो निर्णय भएको कतै उल्लेख छैन् ।

तत्कालिन सरकारका एक वरिष्ठ मन्त्रीले पनि भुकम्पपीडितलाई थप अनुदान दिने निर्णय नभएको बताए ।

१० माघको मन्त्रीपरिषद् बैठकपछि तत्कालीन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको बताएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि भूकम्पपीडितलाई अनुदान रकम थप गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गरेको विषयमा आफूलाई जानकारी नभएको बताए ।

तत्कालीन सञ्चारमन्त्री बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने विषयमा मन्त्रीपरिषद् निर्णय गरेको दाबी अहिले पनि गरेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्