पत्रकारका न्यूनतम पारिश्रमिकसम्बन्धी सुझाव संकलन
रसुवा, चैत १५
विभिन्न सञ्चारमाध्यममा काम गर्ने यहाँका पत्रकारको समस्या र पारश्रमिकसम्बन्धी विषयमा आज सुझाव संकलन भएको छ ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐनको कार्यान्वयन, यहाँका पत्रकारले भोग्नुपरेको समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले बताउनुभयो ।
सुझाव संकलनका क्रममा ‘रासस’, ‘नेपाल टेलिभिजन’, ‘कान्तिपुर’, ‘टिभी टुडे’ र ‘नयाँ पत्रिका’का साथै स्थानीयस्तरमा प्रसारण भइरहेका ‘लाङटाङ एफएम’ र ‘रसुवा रेडियो एफएम’मा कार्यरत संवाददाताको सहभागिता थियो ।
सम्बन्धित सञ्चारगृहले पत्रकारलाई कम्तीमा रु १९ हजार ५०० पारिश्रमिक दिनुपर्ने र यसमा स्थानीयस्तरको महँगीसमेत दृष्टिगत गरी समयसापेक्ष पुनरवलोकन गर्नुपर्ने सुझाव पत्रकारले दिएका थिए । दुर्गम जिल्लामा काम गर्ने पत्रकारका सुझाव संकलनलाई निरन्तर दिनुपर्ने नेपाल पत्रकार महासंघ रसुृवाका सभापति खतिवडाले बताउनुभयो । रासस
प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार