जनप्रतिनिधिको घरमा आगलागी, लाखौंको क्षति


 


पर्वत, चैत १३
पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ ।

भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ ।

एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो ।

पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

उक्त आगो राति अबेर प्रहरी चौकी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगालागीको कारण भने खुल्न सकेको छैन । रासस

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्