यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टीको संरचना, प्रदेश र जिल्ला कमिटी जम्बो
काठमाडौं, चैत ११
एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । नयाँ पत्रिकामा खबर छ ।
‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।
पेसागत संगठनका एउटै महासंघ बनाउने तयारी भएको छ । पार्टी एकतालगत्तै जनसंगठन एकीकरण गरिने र त्यसका लागि समिति बनाउने तयारी भएको छ । पार्टी एकीकरणका लागि विधान अन्तिम चरणमा पुगेको छ । जसको गृहकार्यकेन्द्रीय कमिटीमा भइरहेको छ ।
दुवै पार्टीका अध्यक्षले पालैपालो अध्यक्षता गर्ने गरी एकता गर्ने समझदारी भइसके पनि केन्द्रीय कमिटीको संख्यामा औपचारिक समझदारी भएको छैन ।
दुवै पार्टीबाट मिलाएर ३ सयदेखि साढे ३ सयसम्मको केन्द्रीय कमिटी बनाउने, केन्द्रीय कमिटीको एकतिहाइ संख्या पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ संख्या रहने स्थायी समिति बनाउने तयारी छ ।
यसरी बन्दै छ केन्द्रदेखि जिल्लासम्मको संरचना
एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।
यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ ।
पोलिटब्युरो, एक सयको हाराहारी र स्थायी समिति ३५ जनाको बनाउने तयारी भएको छ ।
त्यस्तै, प्रदेश संगठन कमिटी कम्तीमा दुई सय सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए । जिल्ला कमिटी पनि कम्तीमा डेढ सयदेखि २ सय ५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ ।
प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार