अन्ततः अजम्बर काङमाङ कम्युनिष्ट पार्टीमा फर्कदै, भोलि पार्टी प्रवेश गर्ने


 


काठमाडौं, चैत ८
बाटो विराएको करिब पाँच बर्ष पछि चर्चित युवा नेता अजम्बर राई काङमाङ पुनः कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

संघीय समाजवादी फोरमका केन्द्रिय सचिव रहेका काङमाङ माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन । शुक्रबार (भोलि) माओवादीमा काङमाङ प्रवेश गर्ने बताइएको छ ।

सानै उमेरदेखी कम्युनिष्ट विचार बोकेर राजनीतिमा होमिएका काङमाङ पाँच बर्ष अघि २०६९ सालमा उक्त विचारलाई छाडेर जातिय पार्टीमा लागेका थिए ।

एमालेबाट अशोक राईले पार्टी चोइटाउँदा काङमाङ लगायतका जनजाति नेताहरु बाहिरिएका थिए । एमालेको बैकल्पिक केन्द्रिय सदस्य हुँदा काङमाङ अशोक राईले स्थापना गरेको संघीय समाजवादी पार्टीमा गएका थिए ।

पछि अशोक राईहरुले उक्त पार्टी तत्कालिन मधेशी जनअधिकार फोरम हालको संघीय समाजवादी फोरम नेपालमा मिसाएका थिए ।

फोरममा उक्त पार्टी मिसाउँदा काङमाङ असन्तुष्ट रहेको समाचारहरु बाहिरिएका थिए । तार्किक र भाषणबाजको रुपमा परिचित काङमाङ एमाले छाडेपछि भोजपुर क्षेत्र नं १ बाट दुई पटक चुनाव उठेका थिए ।

२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचन र २०७४ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उठेका काङमाङ दुबै पटक एमालेका उम्मेदवारसँगै पराजित भएका थिए ।

एमालेमै पुनः प्रवेश गर्ने सोच बनाएका काङमाङ बैशाखदेखि एमाले र माओवादीको एकता हुने भएपछि केही स्पेश सहित भोलि माओवादीमा प्रवेश गर्न लागेको स्रोतले देशकोन्युजलाई जानकारी दियो ।

भोजपुरको क्षेत्र नं १ मा एमालेमा धेरै नेता र माओवादीका कम नेता भएकाले काङमाङले माओवादी प्रवेशसँगै आफ्नो राजनीतिक भविष्य सुरक्षित देखेका हुन् ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्