एमाले र माओबादीले मन्त्री छान्योः क–कसले पाए मन्त्री बन्ने अवसर ?


 


काठमाडौं, चैत २
नेकपा एमाले र माओबादी केन्द्रले आज मन्त्रीको नाम टुंग्याएका छन् । एमालेले ६ मन्त्री र एक राज्यमन्त्रीसहित सात मन्त्रीको नाम टुंग्याएको छ ।

एमालेबाट सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगारको जिम्मेवारी दिइएको छ । अर्का नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री, शेरबहादुर तामाङलाई कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटालाई भने सञ्चार राज्यमन्त्री बनाइएको छ ।

यस्तै, यसअघि वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरि प्रमुख सत्ता साझेदार दल नेकपा माओबादी केन्द्रले पनि पाँच मन्त्रीको नाम टुंग्याएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।

माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री र पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी पार्टी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगरलाई खानेपानी मन्त्रालय र चक्रपाणि खनाललाई कृषि तथा शहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्