गुद्री बजारका तीन पसलमा आगलागी, लाखौंको क्षति


 


लहान, फागुन ३०
नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय, सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले जानकारी दिनुभयो ।

गुद्री बजारस्थित उपेन्द्र साहको किराना पसलबाट अचानक शुरु भएको आगो फैलिएर सञ्जीव गुप्ताको फेन्सी पसल र लटु यादवको टेलर्स पसलभित्र रहेका नगदसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति पसल बन्द गरेर घर गएका उपेन्द्र साहको किराना पसलबाट आगलागी भएको देखेपछि स्थानीयवासीले पसल सञ्चालक, बारुण यन्त्र र प्रहरीलाई खबर गरेका थिए ।

विद्युत् चुहावट सर्ट सर्किट भई सो आगलागी भएको अनुमान रहेको प्रहरीले गरेको छ । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्