नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आशंकामा तीन जना पक्राउ


 


काठमाडौं, फागुन २९
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आक्रमणको आशंकामा हिजो राति नै सुखड क्षेत्रबाट नेकपाका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।

सोमबार दिउसो नेकपाका एक नेताले ‘बोक्सी काण्ड’मा एमालेले कारबाही नगरे आफ्नो पार्टीले ‘जनकारवाही’ गर्ने धम्की दिएको बुझिएको छ ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखडस्थित आफ्नै घरमा रहेका नगर प्रमुख चौधरीलाई अज्ञात समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका चौधरीलाई घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज अस्पतालमा लगिएपनि त्यहाँ सम्भव नभएपछि काठमाडौं लैजाने तयारी गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शरीरमा रहेको गोली निकाल्न नसकिएपछि नगरप्रमुख चौधरीलाई नेपालगञ्जबाट काठमाडौं रिफर गरिएको जानकारी दिए । चौधरीको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्