खलपात्रले मण्डलामा कविता सुनाउने


 


काठमाडौँ, २६ फागुन

कृति नै ननिकाली कवि गोष्ठीहरूमा फुटकर कविता सुनाएकै भरमा युवा पुस्तामाझ चर्चित र लोकप्रिय बन्न सफल चितवनका कवि मुकुन्द खलपात्रले राजधानीमा एकल कविता प्रस्तुति गर्ने भएका छन् ।

चितवन–काठमाडौँ सेवा समाजको आयोजना तथा अराजक अक्षर समूह र कर्मी नाट्य समूहको सहकार्यमा यही चैत्र ५ गते अनामनगरस्थित मण्डला नाटकघरमा उनको एकल कविता वाचन कार्यक्रम तय गरिएको आयोजक संस्थाका संयोजक बेनुप पौडेलले बताए ।

‘दोस्रो पटक काठमाडौँमा एकल कविता वचान गर्दैछु, शुभचिन्तक तथा मेरा कविताका पारखी सबैको साथसहयोगको अपेक्षा गरेको छु’ कार्यक्रमबारे जानकारी दिने उद्देश्यले राजधानीको कमलादीस्थित एक रेष्टुराँमा आयोजना गरिएको सञ्चार सम्मेलनमा कवि खलपात्रले भने ।

भरतपुरमा बन्न लागेको कर्मी थिएटरको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रममा आफ्ना चर्चित कविता ‘नमस्ते सर’, ‘मिस हिमाल’, ‘क्यान्डीक्रस जिन्दगी’लगायत केही नयाँ कविता सुनाउने तयारी गरिरहेको रहेको जानकारी दिए ।

जसरी पनि चितवनमा एउटा नाटकघर बनाइछाड्ने आफ्नो सपना रहेको पनि उनले कार्यक्रममा जानकारी गराए ।

उक्त सम्मेलनमा प्राज्ञ तथा कवि श्रवण मुकारुङले आफूलाई खलपात्रका कविता प्रसिद्ध अमेरिकी कवि एलेन्स ग्रिन्सवर्गका कविताजस्ता लाग्ने गरेका सुनाए ।

प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्