तेस्रो हारका लागि प्रतिस्पर्धा गर्दे कुमारीलक्ष्मी राई !


 


काठमाडौं, फागुन २४
चुनाव सामान्यतयाः जित्नका लागि प्रतिस्पर्धा गरिन्छ । तर कतिपय व्यक्तिका लागि चुनाव हार्नकै लागि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भइदिन्छ ।

हो, त्यही हारको प्रतिस्र्धामा कुमारीलक्ष्मी (लक्ष्मी) राई मैदानमा उभिएकी छिन् । कुमारीलक्ष्मी राई फागुन २९ गते हुने देशकै सर्वाेच्च पद राष्ट्रपति पदका लागि उम्मेदवार बनेकी छिन् ।

राई जित्नका लागि भन्दा पनि हार्ने प्रतिस्र्धामा उभिएकी हुन् । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको हो ।

बुधबार मनोनयन दर्ता समेत भएको छ । यता नेकपा (एमाले) ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

राई राष्ट्रपतिको उम्मेदवार बने पनि हार भने निश्चित जस्तै छ । किनभने सुविधाजनक बहुमत रहेको वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा मतभार अत्याधिक मात्रामा रहेको छ ।

नेपाली कांग्रेसले राईको उम्मेदवारी केवल प्रक्रियाका लागि मात्र र भण्डारीलाई सर्वसम्मत हुनबाट रोक्न बनाएको हो । राष्ट्रपतिको उम्मेदवार बनेकी राई यसअघिका दुई संसदीय चुनावमा पराजित भइसकेकी छिन् ।

२०४८ सालको निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट उम्मेदवार बनेकी राई एमालेका नरेन्द्र बस्नेतसँग पराजित भएकी थिईन । त्यस्तै २०५६ सालमा भएको आम निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट उम्मेदवार बनेकी राई एमालेका शेरधन राईसँग पराजित भएकी थिईन् ।

२९ गतेको निर्वाचनमा पनि राईको हार निश्चित प्रायः देखिन्छ । यो हारसँगै कुमारीलक्ष्मीको तेस्रो हार हुनेछ ।

२००६ सालमा भोजपुरको छिनामखु हालको ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ मा जन्मिएकी राई शहीद देवानसिंह राईकी सुपुत्री हुन् ।

२०२४ सालबाट राजनीतिक यात्रा शुरु गरेकी राई नेपाली कांग्रेसकी पुर्व केन्द्रिय सदस्य एंव २०७० सालमा समानुपातिक सभासद/सांसद थिईन् ।

प्रारम्भिक शिक्षा गाउँकै त्रिभुवन धर्माेदय मावि छिनामखुबाट लिएकी उनले अग्रेजी विषयमा स्नाकोत्तर गरेकी छिन् । सेन्ट जेभियर्सबाट स्नातक गरेकी उनले टियुबाट स्नाकोत्तर गरेकी हुन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्