संघको दुवै सदनको बैठक आज बस्दै


 


काठमाडौं, फागुन २१
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज बस्दै छ । दबै बैठक आज छुट्टाछुट्टै बस्नेछ ।

संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ।

संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । विशेष समयमा वा सरकारको नीति तथा कार्यक्रम पेस हुने वेलामा मात्रै राष्ट्रपति संसद्मा आउनु हुने प्रचलन छ ।

सोमबार अपराह्न ४ बजे दुवै सदनको बैठक सम्बन्धित सदनको हलमा बस्नेछ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ । त्यस्तै, राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।

सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि आइतबारको सर्वदलीय बैठकले स्वीकृत गरिसकेकाले सो कार्यविधि सोमबारको दुवै सदनको पहिलो बैठकले पारित गर्न लागेको हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्