इन्द्रेणी जस्तै संघीय संसद् (फोटो-फिचर सहित)


 


रमेश लम्साल/सिबी अधिकारी

काठमाडौँ, फागुन २०
सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो ।

नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो ।

अन्य दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरू आज आ–फ्ना जातीय वेशभूषामा देखिंदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो ।

आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आपसमा बधाई साटासाट गर्न र सेल्फी खिच्न व्यस्त थिए ।

नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

थारु वेशभूषामा शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएकी सांसद शान्ता चौधरीसँग सेल्फी खिच्नेदेखि बधाई साटासाट गर्नेको राम्रै भीड लागेको थियो । उहाँले जनताले विश्वास र भरोसा व्यक्त गरेर आफूलाई प्रतिनिधिसभा सदस्यमा जिताएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्यमा शपथ लिएपछि एक प्रकारको उत्साह र एक प्रकारको चिन्ता पनि लागेको छ । जनताले दिएको ज्म्मिेवारी पूरा गर्छौँ ।”

पाँचपटकका अर्थमन्त्री डा रामशरण महतलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित हितबहादुर तामाङ आफ्नै समुदायको वेशभूषामा शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पुग्नुभएको थियो ।

“वाम गठबन्धनको तर्फबाट आफू विजयी भएकाले गठबन्धनको कार्ययोजनाअनुसार नै अगाडि बढ्छु”–तामाङले भन्नुभयो, “आफूलाई निर्वाचित गराउने जनतालाई सम्झेको छु । उनीहरूका सपना पूरा गराउनुपर्छ भन्ने जिम्मेवारी छ । हामी सफल हुन्छाँै भन्ने लाग्छ ।”

सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपालको अल्पसंख्यक समुदाय मुसलमान समुदायकी रुहिनाज मिकरानी आफ्नै वेशभूषामा शपथ लिन संघीय संसद् भवन पुग्नुभएको थियो ।

उहाँले भन्नुभयो, “धेरै खुसी लागेको छ । पहिलोपटक संसद भइएको छ । जनताले निर्वाचित गरेर पठाएका छन् । सिक्ने प्रयासमा छु ।”

उहाँसँगै भेटिनु भएका अर्का सांसद शेषचाँद तारा पनि अल्पसंख्यक मुसलमान समुदायबाटै प्रतिनिधित्व गर्नुहुन्छ । राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्ष चाँदताराले राम्रोसँग जिम्मेवारी पूरा गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै राष्ट्रिय रुपमा केही योगदान गर्ने योजनामा छु ।”

अनेरास्ववियूका अध्यक्षसमेत रहनु भएकी नवीना लामा शपथ ग्रहण गर्न तामाङ वेशभूषामा नै संघीय संसद् भवन पुग्नुभयो । “पहिला सडक आन्दोलनमार्फत विभिन्न दबाबमूलक कार्यक्रम गरिन्थ्यो । अब देशको संविधान कार्यान्वयन गर्ने नीतिको नेतृत्व गर्दैछु । खुसी पनि लागेको छ । जिम्मेवारी बोध पनि भएको छ”–लामाले भन्नुभयो ।

आर्थिक समृद्धि र विकासको योजनाका साथ आफूहरू जनताका माझ गएको र जनताले सोही जिम्मेवारी पूरा गर्ने तिर लाग्ने कार्ययोजना समेत उहाँले सुनाउनुभयो ।

सांसद लक्ष्मी परियारले पनि आफूलाई खुशी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हिमाल, पहाड र तराईका जनताले उठाएका माग सम्बोधन गर्न अझै पनि सहकार्य र सहअस्तित्वको जरुरी रहेको भन्दै सांसद राजेन्द्र महतोले राजनीतिक एजेण्डा र आर्थिक समृद्धिलाई सँगै अगाडि बढाउनु जरुरी रहेको प्रतिक्रिया दिनुभयो ।

मारवाडी पहिरनमा ठाटिएर शपथ ग्रहण समारोहमा सहभागी हुनु भएका मोती दुगडले विकासको एजेण्डा पूरा गर्ने कार्यभार पूरा गराउन लागिपर्ने बताउनुभयो ।

नेवारी वेशभूषामा सजिनु भएका राजेन्द्र श्रेष्ठ धेरैको आकर्षणमा पर्नुभएको थियो । सेल्फी खिचाउनेदेखि फोटो खिच्नेसम्म पनि उहाँलाई भ्याइनभ्याई थियो ।

उहाँले पहिचान र अधिकारसँग सम्बन्धित मुद्दा र आर्थिक समृद्धिको मुद्दामा समाधान खोज्ने मौलिक थलोका रुपमा आफूले प्रतिनिधिसभालाई लिएको बताउनुभयो । उहाँले आफूले लगाएको पोशाकलाई समेत व्याख्या गर्दै पहिचान झल्काउन खोजेको उल्लेख गर्नुभयो ।

पर्साबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित प्रदीप यादव धेरैको आर्कषणको केन्द्र बिन्दुमा हुनुहुन्थ्यो । उहाँले लगाउनु भएको मधेसी समुदायको पोशाकमा धेरैको आँखा परेको थियो ।

दर्जर्नौले उहाँसँग सेल्फी खिचाए भने विभिन्न सञ्चारमाध्यमको समेत आर्कषणमा पर्नुभयो । “आफूलाई धेरै खुसी लागेको छ । जनताको असली मन्दिरमा आइपुगेको छु । यहीबाट सबै समस्या समाधान गर्न सकिन्छ भन्ने लागेको छ”–उहाँले भन्नुभयो ।

पूर्वसभामुख ओनसरी घर्ती मगर समुदायको परम्परागत वेशभूषामा शपथ लिन आउनु भएको थियो । उहाँसँग सेल्फी खिच्नेको भीड उस्तै थियो ।

यस्तै संघीय संसद्मा शपथ लिन आएका अधिकांश पुरुष सांसद्ले ढाका टोपी, भादगाउँले कालो टोपी लगाएका थिए । दौरा सुरुवाल लगाउने पनि उत्तिकै थिए ।

परम्परागत पोशाक नलगाउने महिला सांसदले नेपाली महिलाले लगाउने साडी चोलो लगाएका थिए । गायिका कोमल ओली भन्दै हुनुहुन्थ्यो, “संघीय संसद् एउटा इन्द्रेणी जस्तै लागेको छ ।”

यस्तै संघीय संसद्मा श्रीमान श्रीमती नै सदस्य रहनु भएका शक्ति बस्नेत र सत्या पहाडी, देवप्रसाद गुरुङ र यशोदा सुवेदी तथा वर्षमान पुन र ओनसरी घर्तीलगायत पनि सँगसँगै शपथ लिन संसद् भवन पुग्नुभएको थियो ।

यस्तै संघीय संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्नुभएका बिना मगर, रामकुमारी झाँक्री, र स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि आकर्षणको केन्द्रमा हुनुहुन्थ्यो ।रासस

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्