रेशम चौधरीलाई सपथ नगराए संसद अवरुद्ध गर्ने चेतावनी


 


धनगढी, फागुन २०
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद कृष्ण चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा भारी मतले निर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र र सपथग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरेका छन् ।

आज बसेको प्रदेश ७ को संसद बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले कानुनलाई मान्दै न्यायलयमा उपस्थित भइसकेका रेशम चौधरीलाई प्रमाणपत्र पाउने र सपथग्रहणको वातावरण मिलाउन पहल गर्न सभामुखलाई आग्रह गरे ।

थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले सपथग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिए । आज हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको सपथग्रहणमा पनि सहभागी हुने वातावरण नमिलाइएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदेश नम्बर ७ मा राजपाका दुई सांसद छन् । टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशम चौधरी केही दिनअघि कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशले अहिले उनी पुर्पक्षका लागि कैलाली कारागार चलान भएका छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्