सरकारमा सहभागिताबारे फोरम र राजपाले राखे यस्तो शर्त


 


काठमाडौ, फागुन १९

संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरूले संविधान संशोधन नभएसम्म आफूहरू वाम गठबन्धनको सरकारमा समावेश नहुने बताउनुभएको छ ।

यहाँ आयोजित साक्षात्कारमा उहाँहरूले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरूको दोस्रो प्राथमिकता भएको बताउनुभयो ।

फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा(एमाले)बाट नआएसम्म सरकारमा नजाने बताउनुभयो । उहाँले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताउनुभयो ।

राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रूपमा वार्ता गरिरहेको भए पनि आफूहरूलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताउनुभयो ।

एमालेका नेता रवीन्द्र अधिकारीले मुलुक समृद्ध बनाउन फोरम र राजपालाई सरकारमा ल्याइने कसरत भइरहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकारमा सामेल भई संविधान संशोधनका लागि छलफल गर्न मधेशी नेतालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशलाई पाँच वर्षभित्र आर्थिक रूपमा समृद्ध बनाउनुपर्ने बताउँदै पार्टीभित्र बृहत् एकता आवश्यक भएकाले काँग्रसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: १९ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्