श्रृखलाबद्ध हत्यामा संलग्न बृद्ध सन्त पक्राउ


 


कञ्चनपुर, फागुन १७
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीकी ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् ।

गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

झण्डै एकसाता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजार नजिक कुटियामा आश्रय लिदै आएका अभियुक्त रानाको यस घटनामा हात रहेको पत्ता लगाएको हो । प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादक पदार्थ सेवन गरेर जंगलको बाटो हुदै कुटियातर्फ फर्किदै गर्दा बाटोमा हँसिया प्रहार गरी वृद्धा धामीको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र्पुयाएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ । अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमवस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल (माता) लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मल्ललाई हत्या गरेको झण्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो ।

धर्मशालामा आश्रय लिदै आएकी मल्ललाई रानाले आफूलाई धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्