शशांकको भोजबाटै देउवाले गरे दलको नेतामा उम्मेदवारी घोषणा, शशांकको बोली बन्द


 


काठमाडौं, फागुन १७

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा। कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए ।

संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले १८ फागुनमा मतदाता नामावली सार्वजनिक गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २१ फागनुको अपराह्न ४ बजे बस्ने संघीय संसद्को पहिलो बैठकले दलको नेता चयन गर्नेछ ।

सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा। कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए ।

उनले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्