अध्यागमनमा डरलाग्दो सेटिङ, विमान भित्रैबाट पाँच भारतीय पक्राउ
काठमाडौं, फागुन १६
अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो। आजको अन्नपूर्णमा खबर छ ।
प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्।
विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए। त्यसलगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए।
करिब १० जना भारतीय सेटिङमा विमानभित्र चढिसकेको सूचना आएपछि ‘ पुस ब्याक’ भइसकेको जहाज रोकेर यात्रुको कागजपत्र जाँच गरिएको थियो। त्यस क्रममा दुई भारतीयलाई विमान भित्रैबाट निकालेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १६ फाल्गुन २०७४, बुधबार