टीकापुर घटनाका मुख्य आरोपी चौधरी जेल चलान, अदालतले दियो यस्तो आदेश


 


धनगढी, फागुन १४
अढाई वर्षअघि कैलालीको टीकापुरमा डेढ वर्षीय बालक र एक एसएसपीसहित आठ जना प्रहरीको ज्यान जाने गरिएको भएको नरसंहारका मुख्य आरोपी ठहर गरिएका सांसद रेशमलाल चौधरीलाई जिल्ला अदालतले पुर्पक्षका लागि अदालत राख्न आदेश दिएको छ ।

नरसंहारको मुख्य योजनाकारको आरोप लागेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार उपस्थित गराउने गरी अदालतले थुना पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चौधरीले सञ्चारकर्मीसग कुरा गर्दै टिकापुरले दिएको ३४ हजार मतको अपमान भएको बताएका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र डेढ वर्षीय बालकसहित आठ जनाको हत्या भएपछि चौधरी फरार रहेका थिए ।

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले आज बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेपछि बयान लिइएको थियो ।

कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान लिइएपछि न्यायाधीश परशुराम भट्टराईको इजलासमा उनको बयान लिइएको थियो । न्यायाधीश भट्टराईको इजलासले टीकापुर हत्याकाण्डलाई राजनीतिक मुद्दाका रुपमा हेर्न नहुने पनि ठहर गरेको छ ।

त्यसैगरी अहिलेसम्म संकलित प्रमाणका आधारमा टीकापुर घटनामा रेशम चौधरीको संलग्नता पाइएको ठहर पनि अदालतले गरेको छ । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो । यो घटनामा संलग्न भएको अभियोमा पक्राउ परेकामध्ये २३ जना कैलाली कारागारमा छन ।

अन्य दुईजना भने नाबालक भएकाले अभिभावको जिम्मा लगाइएको थियो । चौधरी टीकापुर घटनापछि भारतमा लुकेर बस्दै आएका थिए । भारतमै रहेर राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी हुनु भएका थिए ।

 

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्