आज सरकार विस्तार गर्ने ओलीको तयारी


 


काठमाडौं, फागुन १४
प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठन भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।

पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। आजको अन्नपूर्णमा खबर छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हुँदा टुंगो लगाउन सकेका थिएनन्।

मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो। आज सरकार विस्तार गर्ने तयारी गरिएपनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन।

दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महत्वपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।

दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्।

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्