मन्त्रालयका लागि माओबादी केन्द्रमा हानथाप, यसरी हुँदैछ गृहका लागि लबिङ


 


काठमाडौं, फागुन ११
एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्। अन्नपूर्णमा खबर छ ।

माओवादीबाट गृहमा रामबहादुर थापा (बादल), वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका छन्। थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए। तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने तयारीमा छलफल चलेपछि माओवादीभित्र ‘गृहमा मोह’ बढेको हो।

माओवादीभित्र गृह मोहमा नेताहरूको आन्तरिक द्वन्द्वले पनि प्रभाव पारेको नेताहरू स्वीकार्छन्। थापा विगतमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण यसपटक गृह आफूले लिएर सरकारको नेतृत्व पार्टीका तर्फबाट गरेर जान चाहन्छन्।

तर, पुन थापालाई अन्य मन्त्रालयमा अचेटेर आफैं गृहमन्त्री हुने लबिङमा छन्। उता गृहकै दाबी गरिरहेका अर्का नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा भने पुनलाई गृहमा रोक्ने तयारीमा थापालाई स्वीकार्ने पक्षमा उभिएपछि माओवादीभित्रको गृह लफडा रोचक बन्न थालेको छ। पुन गृह आफूले नपाए सरकारमै सहभागी नहुने पक्षमा देखिएका छन्। पुन र थापा दुवै अध्यक्षका विश्वासप्राप्त नेता हुन्। सक्रिय राजनीतिकालदेखिकै साथी थापासँग दाहाल सम्बन्ध चिस्याउन चाहँदैनन्। पुन अहिले दाहाललाई सहयोग गर्ने नजिकका नेतामध्येमा पर्छन्।

कुन मन्त्रालय कसलाई ?
एमाले

अर्थ तथा योजना

परराष्ट्र

रक्षा

भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना–सञ्चार तथा विज्ञान प्रविधि

कानुन न्याय तथा संसदीय मामिला

पर्यटन

स्वास्थ्य तथा जनसंख्या

शिक्षा तथा खेलकुद

माओवादी केन्द्र
गृह मन्त्रालय

जलस्रोत तथा ऊर्जा

सहरी विकास आवास खानेपानी तथा सरसफाइ

उद्योग वाणिज्य तथा आपूर्ति

वन तथा वातावरण

कृषि सहकारी तथा भूमि व्यवस्थापन

श्रम तथा रोजगार तथा महिला बालबालिका

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्