१८ वर्षीया किशोरीले गरिन स्थायी बन्ध्याकरण !


 


डोटी, फागुन ११
कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।

बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् ।

सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’

सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा। गिरिश अवस्थीले बताए । ‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै
बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’

डोटीमा सञ्चालन गरिएको शिविरमा बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला धेरै रहेको अस्पतालको तथ्यांक छ । जिल्लाका १२ स्थानमा भएको शिविरमा एक सय ५९ महिला तथा ६५ पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्