चौतारी पुरस्कार घोषणा, क-कसले पाए ?
काठमाडौं, फागुन ९
प्रेस चौतारी नेपालले यस वर्ष प्रदान गरिने विभिन्न पुरस्कार घोषणा गरेको छ ।
पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार चौतारीले यस वर्ष प्रदान गर्ने पाँच पुरस्कार घोषणा गरेको चौतारीका महासचिव राजेश राईले जानकारी दिनुभयो ।
सोअनुसार ‘हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार’ निर्मला शर्मा र ‘अग्नि शिखा पत्रकारिता पुरस्कार’ प्रमोद दाहाललाई प्रदान गरिनेछ ।
यसैगरी ‘वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार’ राजु अधिकारी (झापा), वसन्तप्रताप सिंह (बझाङ) र सुभद्रा प्याकुरेल (सुनसरी)लाई संयुक्त रुपमा, ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ सुशील अर्याल (गोरखा), दीपक रिजाल (धादिङ) र मीना बुढाथोकी (सल्यान) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
यसैगरी यसै वर्षदेखि स्थापित ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ दमन राई (खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रवीना बोहरा (बागलुङ) लाई प्रदान गरिने घोषणा गरिएको छ ।
ती पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा प्रदान गरिने छ । चौतारीले सातै प्रदेशमा एउटा उत्कृष्ट जिल्ला घोषणा गरेको छ ।
सोअनुसार प्रदेश १ मा पाँचथर, प्रदेश २ मा पर्सा, प्रदेश ३ मा मकवानपुर, प्रदेश ४ मा बागलुङ, प्रदेश ५ मा बाँके, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा बाजुरा उत्कृष्ट जिल्ला घोषणा गरिएको छ ।
प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार