आखिर गुण्डा नाइके मनोज पुन को थिए ? जो, प्रहरी इन्काउन्टरमा मारिए


 


काठमाडौं, फागुन ९
गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।

सोम आले मनोज पुनका सहयोगी हुन् । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो ।

त्यसपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।

कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए ।

साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइँदै आएको छ ।

को थिए मनोज पुन ?

रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२र६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए ।

युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।

त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले ।

माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएलको बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो ।

पछि उनी एमाले निकट युथ फोर्सतिर लागे । त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो ।

विभिन्न राजनीतिक दलमा लाग्नुको उनको मुख्य उद्देश्य भनेको कमिसन असुली र राजनीतिक संरक्षण नै हुने गरेको त्यहाँका एक व्यवसायी बताउँछन् । युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम जारी राखेपछि उनलाई निस्कासन गरिएको थियो ।

त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ रहेको बताइन्छ । जसको प्रतिशोध स्वरुप दुर्गा तिवारीको पुनले हत्या गरेको प्रहरीको ठम्याइ छ ।

म्याग्दी पुर्ख्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ ।

उनकी दिदी माया बेलायतमा बस्छिन् भने बहिनी ममता देवदह मेडिकल कलेजमा नर्सिङ विषय अध्ययन गर्दैछिन् । मनोजको एक जना छोरीसमेत छिन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका छन्, पुनले ।

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।

तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।

‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम डी–कम्पनी त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् ।

र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’

प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्