आँपको बगैँचामा फेला परेको शवको पहिचान, हत्याको आशंका


 


लहान, फागुन ८

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।

स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ ।

सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो ।

बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ ।

गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्