अन्याय भएको भन्दै सांसदले दिए राजीनामा, यस्तो छ कारण


 


काठमाडौं, फागुन ७
आफूमाथि अन्याय भएको भन्दै प्रदेश नम्बर ६ का सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सभामुखको आकांक्षी रहेका उनले अन्त्यमा केही पनि पद नपाएपछि अपमानित भएको भन्दै राजीनामा दिएका हुन् ।

मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकारसमेत रहेका शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् । उनले मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाएका छन् ।

शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउने तयारी गरेका छन् ।

सभाम्ख पदसमेत नपाएपछि मन्त्रीको आकांक्षी रहेका उनले पार्टीका कुनै योगदान नदिएका र जुनियर व्यक्तिलाई मन्त्री बनाइएको बताएका छन् । एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए ।

मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए ।

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्