किन हराउँदैछन् प्रकृतिको कुचिकार गिद्ध ? देख्न पनि मुस्किल


 


पाल्पा, फागुन ७

आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो ।

कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ । नदी किनारमा हिजोआज मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँदा गिद्ध लोप हुन पुगेको हो ।

सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेपछि गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुरका स्थानीय समाजसेवी बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । “कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक–दुईवटा पनि भेटृाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

आजभन्दा एक दशकअगाडि सम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका दर्जनौँ घाटमा प्रशस्त मात्रामा गिद्ध भेटिन्थे । नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो । हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दो अवस्थामा रहेको चापाकोट नगरपालिकाका स्थानीयवासी शोभाकान्त पाठक बताउनुहुन्छ ।

नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण हुन नसक्दा लोप हुँदै गएका हुन् । पछिल्लो समय यस कालीगण्डकी क्षेत्रमा मात्र नभई देशमै गिद्धको संख्या घट्दो छ । गिद्ध संरक्षणका लागि स्थानीय निकायले विशेष कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी र सिमलका रूखहरुको विनाश गर्दै जाँदा यसको बासस्थान संकटमा परेको छ । नेपालमा सानो, खैरो, डङगुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर र लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछन् । रासस

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्