देउवा सरकारले गरेका यी निर्णय उल्ट्याउँदै ओली सरकार


 


काठमाडौं, फागुन ६
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको छ ।

देउवा सरकारले २७ माघमा राष्ट्रिय सभा सदस्यमा चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । सो सिफारिस राष्ट्रपतिबाट फिर्ता नभए मन्त्रिपरिषद् बैठकबाट अघिल्लो निर्णय फिर्ता लिने निर्णय गरी नयाँ नाम सिफारिस गर्ने तयारीमा सरकार जुटेको छ । आजको राजधानीमा खबर छ ।

राष्ट्रिय सभा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जना गरी ५९ सदस्यीय हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले राष्ट्रिय सभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ३ जनाको नाम सिफारिस गरेको थियो ।

नेकपा एमालेको स्थायी समिति बैठकले यसअघि नै देउवा सरकारले गरेको सिफारिस फिर्ता लिनुपर्ने निर्णय गरिसकेको छ । अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस फिर्ता गर्ने कि नियुक्ति दिने भन्ने विषयमा राष्ट्रपति छलफलमै रहेका बेला सरकारले नयाँ निर्णय गर्ने बताएको हो ।

नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अघिल्लो सरकारको सिफारिस बदर हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्