प्रधानमन्त्री र प्रचण्डबीच यसरी हुँदैछ एकता र सरकारमा प्याकेज सहमति


 


काठमाडौं, फागुन ६
एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

यी हुन् प्याकेज छलफलका एजेन्डा

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ ।

सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ ।

दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका साथै मन्त्रालय भागबन्डा टुंगो लाग्न बाँकी छ । १५ वटा मन्त्रालयमा दुवै पार्टीले चुनावी परिणामका आधारमा सम्मानजनक भागबन्डा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्