यसरी गरे प्रदेश नं ६ मा एमाले र माओवादीले मन्त्रालय बाँडफाँड


 


सुर्खेत, ५ फागुन

प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ ।

मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नुहुने भएको हो ।

प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) को भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँग राख्ने योजना बनाए पनि एमालेले उक्त मन्त्रालय दाबी गर्दा माओवादी केन्द्रले छोडेको छ ।

मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका मन्त्रालयको मन्त्री छान्न आन्तरिक तयारी गरिरहनुभएको सांसद कृष्णा शाहले बताउनुभएको छ ।

माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरेको सांसद शाहले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाएको माओवादी केन्द्रले आज मन्त्रालयको टुङ्गो लगाएपछि भोलि बिहान बस्ने संसदीय दलको बैठकले मन्त्री बन्ने भण्डारी र केसीको नाम अनुमोदन गर्ने उहाँले बताउनुभयो ।

नेकपा (एमाले) ले भने आफ्नो भागमा परेका चारवटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिनुभयो ।

भोलिसम्म मन्त्री बन्नेको नाम टुङ्गो लाग्ने र शपथ लिने उहाँले बताउनुभयो । वाम गठबन्धनका दुई दलबीच एमाले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको थियो ।

यो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एकजना सांसद छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्