प्रदेश नम्बर ७ मा सरकार गठन, को–को भए मन्त्री ?


 


धनगढी, फागुन ५
प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । यससंगै प्रदेश नम्बर ७ मा सरकार गठनले पूर्णता पनि पाएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीहरुलाई आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्रीको नियुक्ती विहीवार नै भइसकेकोमा मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको हो ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो । यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिनुभएको छ ।

एमालेको तर्फबाट प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रकाश शाह आन्तरिक मामिला र कानुन मन्त्री, एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारी सामाजिक विकास मन्त्री, पठानसिंह बोहरा भौतिक पूर्वाधार मन्त्री र माया भट्टले उद्योग पर्यटन वन तथा बातावरण मन्त्रीमा सपथ लिनुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट आर्थिक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस्यमा विजयी झपट बोहरा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनीता चौधरीले सपथग्रहण गर्नुभएको छ ।

यसअघि आज दिउसो ३ बजेका लागि सपथ ग्रहणको समय राखिएकोमा एमालले मन्त्रीको टुङगो लगाउन २ घण्टा मागेपछि साढे ५ बजे मात्रै सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो ।

सपथग्रहणपछि बोल्दै मुख्यमन्त्री भट्टले भ्रष्टाचार न्युनिकरण गर्ने र सुशासन काम गर्दै समृद्ध प्रदेश निर्माणमा आफ्नो प्रयास रहने बताउनुभएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्