सोनाम र ग्याल्बो ल्होछार मनाइँदै, आज सार्वजनिक विदा


 


काठमाडौं, फागुन ४
आज बौद्ध महायानी धर्मावलम्वीहरुले ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायतका समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् ।

सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । यसअघि माघ ४ गते परेको सोनाम ल्होछारमा केहीले पर्व मनाएपनि केही आज मनाउँदैछन् ।

पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो । ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् ।

हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको हो । तीनकुनेमा विशेष कार्यक्रम, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

यसैबीच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्