ओलीले सुरुमै दिए जनतामा उत्साह, समावेशी मन्त्रिमण्डल गठन


 


काठमाडौँ, ३ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ ।

प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

वाम गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र बाट र नेकपा एमालेका पदाधिकारी तहबाट सरकारमा सहभागिता हुन बाँकी रहे पनि आजका नियुक्त दुई मन्त्रीले जनतामा सकारात्मक सन्देश दिने देखिएको छ ।

विगतमा सामान्य प्रशासनमन्त्री हुँदा राष्ट्रिय हितका र प्रशासन सुधारका काम गरेर चर्चा कमाउनुभएका पण्डितको राजनीतिक यात्रामा आधारित ‘सिंहदरबार बदल्ने संघर्ष’ नामक पुस्तकसमेत आएको छ ।

एमालेका पोलिटब्यूरो सदस्य उहाँ प्रतिनिधिसभा सदस्यमा मोरङ¬– ६ बाट नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरी विजयी हुनुभएको थियो ।

एमाले नेत्री महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थापा प्रतिनिधिसभामा समानुपातिक सदस्य हुनुहुन्छ । उहाँ विसं २०७० को संविधानसभामा पनि सदस्य हुनुहुन्थ्यो ।

हाल उहाँ अखिल नेपाल महिला संघका महासचिव हुनुहुन्छ । उहाँहरु दुवै जनाले आजै आआफ्ना मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्